नुवाकोट लिखुका विद्यालय आइतबार पनि बन्द हुने
नुवाकोट,जेठ ९ । नुवाकोटको लिखु गाउँपालिकाभित्रका सामुदायिक विद्यालय अब आइतबार पनि बन्द हुने भएका छन् । शुक्रबार गाउँपालिका र मातहतको शिक्षा शाखाबीच भएको निर्णयअनुसार आइतबार बिदा दिने व्यवस्था लागू गरिएको हो ।
यसअघि पठनपाठन समयावधि नपुगेको भन्दै संघीय सरकारको निर्देशन विपरीत आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरिएको थियो । तर पछिल्लो बैठकले संघीय सरकारको निर्णयलाई कार्यान्वयन गर्दै आइतबार पनि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
शुक्रबार गाउँपालिका, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्ष तथा प्रधानाध्यापकहरूबीच भएको बैठकमा विद्यालय सञ्चालन समयलाई थप व्यवस्थित बनाउने सहमति समेत गरिएको छ ।
निर्णयअनुसार अब विद्यालयमा बिहान ९ः४५ बजेसम्म अनिवार्य उपस्थित हुनुपर्नेछ । शुक्रबारका दिन पूरा समय पठनपाठन सञ्चालन गर्नुपर्ने, १५ मिनेट प्रार्थना र ३० मिनेट टिफिन समय निर्धारण गरिएको छ । साथै परीक्षा सञ्चालनको समयलाई समेत पठनपाठन समयमै गणना गरिने निर्णय भएको बताइएको छ । लिखुका निजि विद्यालय भने एक साता अघिदेखि नै आइतबार बन्द गरिएको थियोे ।
उता शिवपुरी, तादी, दुप्चेश्वर, तार्केश्वरका विद्यालय भने आइतबार पनि संचालनमा रहेका छन् । संघीय सरकारको निर्देशन बिपरित संचालित विद्यालयमा दिवा खाजा तथा अन्य खर्च व्यवस्थापनमा भने चुनौती देखिएको सरोकारवालाहरु बताउँछन् ।

