अब बस यात्रामा पनि ‘लगेज ट्याग’ अनिवार्य, जेठ १५ देखि लागू



काठमाडौँ,जेठ ९ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अब यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित राख्ने, झोला हराउने वा साटिने समस्या रोक्ने तथा सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त व्यवस्था लागू गर्न लागिएको हो ।

यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौला ले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा विशेष ट्याग लगाइनेछ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिएको सामानको नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ ।

ट्राफिक प्रहरीका प्रमुख नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको जानकारी दिनुभयो ।

यस्तै, महासङ्घका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै अब सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको बताउनुभयो । उहाँका अनुसार नयाँ प्रणालीले यात्रुको झोला हराउने, साटिने वा गलत व्यक्तिले लैजाने समस्या न्यूनीकरण गर्नेछ ।यातायात व्यवसायीका अनुसार विशेषगरी चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो बढ्दै गएको थियो । सुरक्षा निकायले सार्वजनिक सवारी साधन अवैध वस्तु ओसारपसारमा समेत दुरुपयोग हुने गरेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए ।

नयाँ व्यवस्थाअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ भने सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने तयारी गरिएको छ ।

ट्राफिक प्रहरीले आगामी दिनमा क्युआर कोड तथा डिजिटल रेकर्ड प्रणालीसमेत जोड्ने योजना रहेको जनाएको छ । यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३” पनि सुरु गरेको जनाएको छ । वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले मनसुन अवधिमा सवारी साधनको प्राविधिक परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्