नुवाकोट दुप्चेश्वरको करेजुङमा आधुनिक प्रसुती गृह : अब गाउँमै सुरक्षित सुत्केरी सेवा
नुवाकोट,जेठ ९ । दुर्गम भौगोलिक अवस्थाका कारण सामान्य स्वास्थ्य सेवा लिनसमेत सदरमुकाम विदुर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता भोग्दै आएका दुप्चेश्वर गाउँपालिका–६ करेजुङका स्थानीय अब गाउँमै सुरक्षित प्रसुती सेवा पाउने भएका छन् । गाउँवासीको यही समस्यालाई मध्यनजर गर्दै करेजुङमा आधुनिक सुविधासम्पन्न प्रसुती गृह निर्माण सम्पन्न गरिएको छ ।
नुवाकोटको उत्तरी भेगमा पर्ने करेजुङ धार्मिक तथा पर्यटकीय दृष्टिले परिचित क्षेत्र हो । तर स्वास्थ्य पूर्वाधारको अभावले यहाँका गर्भवती महिलाले समयमै उपचार नपाउँदा जोखिमपूर्ण अवस्था झेल्दै आएका थिए । अब भने गाउँमै प्रसुती गृह निर्माण भएसँगै स्थानीयमा नयाँ आशा जागेको छ ।
दुप्चेश्वर गाउँपालिका कार्यालयको सहकार्यमा गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको साझेदारीमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत एकतले पाँच कोठे आधुनिक प्रसुती गृह निर्माण गरिएको हो । भवनसँगै आवश्यक भौतिक सुधार तथा आधुनिक स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ ।
रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीका अनुसार प्रसुती गृह निर्माणमा कुल ४८ लाख २९ हजार ४ सय ३ रुपैयाँ खर्च भएको छ । जसमा दुप्चेश्वर गाउँपालिकाले ४ लाख ९० हजार ५ सय १५ रुपैयाँ र गुड नेवर्स इन्टरनेसनल नेपालले ४३ लाख ३८ हजार ८ सय ८८ रुपैयाँ लगानी गरेको छ । प्रसुती गृहमा मात्रै ५ लाख रुपैयाँभन्दा बढी मूल्यका स्वास्थ्य उपकरण जडान गरिएको उनले बताए ।
निर्माण सम्पन्न भएसँगै भवन उद्घाटन तथा हस्तान्तरणको तयारीसमेत सुरु गरिएको छ । करेजुङमा प्रसुती गृह स्थापना भएपछि स्थानीय महिलाहरू सबैभन्दा बढी उत्साहित भएका छन् । यसअघि सुत्केरी गराउन लामो दूरी पार गर्दै जोखिम मोलेर अस्पताल पुग्नुपर्ने अवस्था अब अन्त्य हुने अपेक्षा गरिएको छ ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले प्रसुती गृह दुप्चेश्वर क्षेत्रकै मातृ तथा शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार घरमै हुने असुरक्षित सुत्केरीलाई शून्यमा झार्ने उद्देश्यसहित यो पूर्वाधार निर्माण गरिएको हो ।“अब गाउँका महिलाले सामान्य प्रसुतीका लागि टाढा धाउनुपर्दैन,” अध्यक्ष थापाले भने, “यसले नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा ठूलो सहयोग पुग्नेछ ।”
प्रसुती गृह निर्माणका लागि स्थानीय मुई लामातामाङ र शिर लामातामाङले निःशुल्क जग्गा दान गरेका थिए । स्थानीयको सहयोग र समुदायको सक्रियताले निर्माण कार्य सुरु भएको छ महिनामै सम्पन्न भएको जनाइएको छ ।
सदरमुकाम विदुरदेखि करिब ४० किलोमिटर उत्तरमा रहेको करेजुङ क्षेत्रमा करिब पाँच सय घरधुरी बसोबास गर्छन् । प्रसुती गृह सञ्चालनमा आएपछि आसपासका गाउँसहित करिब तीन हजार स्थानीय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै ग्रामीण बस्तीमा सुरक्षित मातृत्वको आधार बलियो बन्ने विश्वास स्थानीयले गरेका छन् । दुर्गम गाउँमै आधुनिक प्रसुती सेवा उपलब्ध हुनु यहाँका महिलाका लागि मात्र होइन, समग्र समुदायका लागि राहत र खुसीको विषय बनेको छ ।

