इरान–अमेरिका तनावबीच तेहरान पुगे पाकिस्तानी सेना प्रमुख मुनीर



काठमाडौ,जेठ ९ । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुग्नुभएको छ । पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार मुनीर हिजो तेहरान पुग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँले इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे उच्चस्तरीय छलफल गर्ने बताइएको छ । यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले पनि मुनीरसँग निरन्तर सम्पर्क भइरहेको जानकारी दिनुभएको छ ।

रुबियोले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । त्यस्तै इरानका विदेशमन्त्री अब्बास अराघची ले अमेरिका–इरान वार्तामा केही सकारात्मक संकेत देखिएको बताउनुभएको छ ।

तर इरानको युरेनियम भण्डारण, हर्मुज जलमार्गको नियन्त्रण तथा सुरक्षा व्यवस्थाजस्ता संवेदनशील विषयमा अझै सहमति जुट्न सकेको छैन । अराघचीले सामाजिक सञ्जाल एक्समार्फत वर्तमान तनावपूर्ण अवस्थाबीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनुभएको छ ।

दुई देशबीचको तनाव र सम्भावित युद्धको असर विश्व अर्थतन्त्रमा समेत देखिन थालेको छ । विश्वभर तेल आपूर्तिमा अवरोध आउँदा मूल्य तीव्र रूपमा बढेको छ भने इरानको तेल निर्यात लगभग ठप्प हुँदा त्यहाँको अर्थतन्त्रमा ठूलो दबाब परेको बताइएको छ ।

यस्तै अमेरिका र युरोपमा मुद्रास्फीति तथा इन्धन खर्च बढेको छ भने खाडी क्षेत्रका धेरै देशमा व्यापार, हवाई सेवा र पर्यटन क्षेत्र प्रभावित बनेका छन् । विश्व शेयर बजारमा गिरावट, लगानीमा अनिश्चितता तथा आर्थिक वृद्धि सुस्त हुने चिन्ता बढ्दै गएको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टले उल्लेख गरेका छन् ।

विश्लेषकहरूले युद्ध लामो समयसम्म जारी रहे विश्वव्यापी आर्थिक मन्दीको जोखिम अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्