नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर–प्रिन्टरसहित दुई जना नियन्त्रणमा
रुपन्देही,जेठ ९ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककरहवाका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय बिक्की भन्ने अनिल पासी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले नोट छाप्ने स्थान पहिचान गरी सामग्रीसहित उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकाहरूबाट एउटै नम्बर ‘ङ २५ ०२४९१२’ अंकित नेपाली पाँच सय दरका ३० थान नक्कली नोट बरामद गरेको जनाएको छ । यस्तै नेपाली १००, ५०० र १००० दरका प्रिन्ट भई कटिङ नगरेका सात थान नक्कली नोट पनि फेला परेको छ ।
यसैगरी नक्कली नोट छाप्न प्रयोग गरिएको सिपीयु, प्रिन्टर, मोनिटर, दुई थान मोबाइल, एक थान कैची तथा अन्य कागजात समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

