गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ



काठमाडौं,जेठ ९ । काठमाडौँ प्रहरीले गोङ्गबुबाट एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही ठाउँ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्दै आएका २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार टोखा नगरपालिका–९ गोङ्गबुस्थित शिव मन्दिर नजिक रहेको काबेली गेष्टहाउसमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूको साथबाट एसएलआर हतियारमा प्रयोग हुने एक थान म्याग्जिन, ४५ राउण्ड गोली तथा मेटलको नक एक थान बरामद गरेको जनाएको छ ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्