हेलम्बुमा दुईदिने स्वास्थ्य शिविर सम्पन्न, ३५२ महिलाको पाठेघर क्यान्सर परीक्षण



सिन्धुपाल्चोक,जेठ ९ ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ स्थित हेलम्बु प्राथमिक अस्पतालमा दुईदिने स्वास्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

हेलम्बु गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा यही जेठ पहिलो हप्तामा सञ्चालन गरिएको शिविरमा ३५२ जना महिलाले सेवा लिएका हुन् ।

शिविरमार्फत महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर परीक्षण, प्रजनन स्वास्थ्य परामर्श, उपचार सेवा तथा स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य सेवा पहुँच बढाउनुका साथै समयमै परीक्षण र उपचारका लागि प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

कार्यक्रमका लागि ग्राउन्डस्वेल इन्टरनेशनलको सहयोगमा बीबीपी परिवारमार्फत आर्थिक सहयोग तथा नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउन्डेसनबाट प्राविधिक सहयोग प्राप्त भएको थियो ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, प्राविधिक टोली, जनप्रतिनिधि, सहयोगी संस्था तथा स्थानीय समुदायप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्