बसको ठक्करबाट स्कुटर चालकको मृत्यु



मकवानपुर,जेठ ९ । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरी सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको खाली बसले शनिबार दिउँसो घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक दोर्जेरत्न योञ्जन गम्भीर घाइते भएका थिए ।

मकवानपुरगढी गाउँपालिका–२ लामिडाँडाका करिब ५५ वर्षीय योञ्जनलाई उपचारका लागि तत्काल हेटौँडा अस्पताल लगिएको थियो । पछि थप उपचारका लागि सिएमसी चुरेहिल अस्पताल मकवानपुर लगिएकोमा उपचारकै क्रममा दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न बस, चालक काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–२ का ४१ वर्षीय शिवबहादुर चौलागाईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको जनाएको छ ।

मृतक योञ्जनको शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्