नुवाकोट लिखुमा रास्वपाको नयाँ नेतृत्व, दोब्बर मत अन्तरले विजयी बने विष्णुकुमार श्रेष्ठ
नुवाकोट,जेठ ९ । नुवाकोटको लिखु गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलोपटक गाउँपालिका स्तरको नेतृत्व चयन गर्दा कार्यकर्ताबीच उत्साह र चासो दुवै देखिएको छ । शनिबार छहरे बजारस्थित होटल सुस्वास्थ्यमामा सम्पन्न प्रथम गाउँपालिका अधिवेशनबाट विष्णुकुमार श्रेष्ठ गाउँपालिका सभापतिमा निर्वाचित भएका हुन् ।
अधिवेशन सुरुदेखि नै प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको थियो । सभापति पदका लागि प्रारम्भमा चार जनाले दाबी प्रस्तुत गरेका थिए । तर अन्तिम समयमा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन दिलिप गौतम र विष्णुकुमार श्रेष्ठबीच सीमित बनेको थियो । त्यसपछि भएको मतदानमा श्रेष्ठले स्पष्ट बहुमतसहित नेतृत्व आफ्नो पक्षमा पार्न सफल भए ।
कुल १ सय १ मत खसेको निर्वाचनमा श्रेष्ठले ६८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी दिलिप गौतमले ३३ मत पाए । यससँगै श्रेष्ठले गौतमलाई दोब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै लिखुमा रास्वपाको पहिलो गाउँपालिका सभापतिको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका छन् ।
अधिवेशनमा सहभागी कार्यकर्ताले नयाँ नेतृत्वबाट गाउँस्तरमा पार्टी संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरेका छन् । विशेषगरी पछिल्लो समय युवामाझ बढ्दो आकर्षण बनाइरहेको रास्वपाले स्थानीय तहमा संगठन विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ ।
नवनिर्वाचित सभापति श्रेष्ठले अधिवेशनपछि प्रतिक्रिया दिँदै पार्टीलाई गाउँ–गाउँसम्म सशक्त रूपमा विस्तार गर्ने, जनसम्पर्क बढाउने तथा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले लिखुमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपालाई स्थापित गर्न आफू प्रतिबद्ध रहने बताए ।
सभापतिसहित अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएका थिए । पहिलो अधिवेशनबाट नेतृत्व चयन भएसँगै लिखुमा रास्वपाले अब संगठन विस्तार र स्थानीय मुद्दामुखी गतिविधिलाई थप तीव्र बनाउने संकेत देखिएको छ ।

