जनताको हितमा सरकारका काम प्रभावकारी : सञ्चारमन्त्री तिमिल्सिना



नुवाकोट, जेठ १० — सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ले सरकार गठन भएको छोटो अवधिमै गरिएका नवीनतम कार्यले जनतामा आशा जगाएको बताउनुभएको छ ।

शनिबार लिखु गाउँपालिका–६ छहरेमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले देश र जनतालाई केन्द्रमा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो । उहाँले सरकारी सेवा प्रवाह र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव देखिन थालेको उल्लेख गर्नुभयो ।

“जनताको अभिमतबाट प्राप्त जिम्मेवारीमा अहिलेको सरकारले इमान्दार भएर काम गरिरहेको छ,” उहाँले भन्नुभयो, “एक सय दिन, छ महिना, एक वर्ष हुँदै पाँच वर्षसम्मका लक्ष्य निर्धारण गरेर सरकारले काम अघि बढाएको छ । पाँच वर्षभित्र जनताले महसुस गर्ने गरी परिवर्तन देखिनेछ ।”

मन्त्री तिमिल्सिनाले विगतमा राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहमा बिचौलियाको प्रभाव बढेको भन्दै त्यसबाट जनतालाई मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । सरकार गठन भएको छोटो समयमै सामान्य नागरिकले समेत राहत पाउने गरी सुधारका काम गरिएको उहाँको भनाइ थियो ।

उहाँले देशको विकास र परिवर्तनका लागि जनता अहिले निकै सचेत रहेको उल्लेख गर्दै जनताको चाहना र भावनाअनुसार सकारात्मक परिवर्तन गर्न सरकार निरन्तर सक्रिय रहेको बताउनुभयो । “सरकारका लागि देश र जनताभन्दा ठूलो प्राथमिकता अर्को छैन,” उहाँले भन्नुभयो ।

युवा वर्गमा बढ्दो नैराश्यता अन्त्य गर्दै जनताको मुहारमा खुसी ल्याउने लक्ष्यसहित सरकारले दिनरात नभनी काम गरिरहेको उहाँले दाबी गर्नुभयो । सञ्चार मन्त्रालयअन्तर्गत नेपाल टेलिकम, हुलाकलगायतका निकायमार्फत नवीनतम सेवा विस्तार गरी जनतालाई राहत दिने योजनामा आफू लागेको जानकारी दिनुभयो ।

मन्त्री तिमिल्सिनाले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक न्याय, जनताको प्रत्यक्ष लाभ र समावेशी विकासलाई प्राथमिकता दिइने बताउनुभयो । विगतका बजेटमा पहुँच र राजनीतिक प्रभाव हाबी हुने गरेको उल्लेख गर्दै आगामी बजेट ‘नयाँ भिजन’सहित आउने उहाँले बताउनुभयो ।

उहाँले योजनाका लागि राजनीतिक दल, नेता वा मन्त्रीको ढोका चहार्नुपर्ने बाध्यता अन्त्य गरी पछि परेका वर्ग, समुदाय र भूगोललाई समेटेर बजेट निर्माण भइरहेको जानकारी दिनुभयो ।

रास्वपाको राजनीतिलाई जनताको सेवा गर्ने माध्यमका रूपमा लिन आग्रह गर्दै मन्त्री तिमिल्सिनाले जिम्मेवारीलाई साध्य नभई साधनका रूपमा बुझ्न पार्टी पङ्क्तिलाई सुझाव दिनुभयो । उहाँले नयाँ नेतृत्व चयनमा सौहार्द्रपूर्ण वातावरण कायम गर्न आग्रह गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा ध्यान दिनुपर्ने बताउनुभयो ।

यसैबीच, रास्वपा लिखु गाउँपालिकाको प्रथम अधिवेशनबाट विष्णुकुमार श्रेष्ठ गाउँपालिका सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदमा दिलिप गौतमलाई पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । कुल १ सय १ मत खसेकोमा श्रेष्ठले ६८ मत प्राप्त गर्नुभयो भने गौतमले ३३ मत पाउनुभयो ।

अधिवेशनबाट उपसभापतिमा बिना सिंखडा, सचिवमा कुमार पौडेल तथा सदस्यमा तेजप्रसाद ढकाल, गोविन्दप्रसाद लामिछाने, राजेन्द्र राई, समिना श्रेष्ठ, सुमन भण्डारी र तारा श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्