पाँचथरमा बाढीपहिरोको कहर : चार परिवार विस्थापित, पुल बगेपछि यातायात ठप्प
पाँचथर,जेठ १० । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुगेको छ । पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् भने दर्जनौँ घर उच्च जोखिममा परेका छन् ।
पहिरोले लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको घर बगाएपछि उनीहरूको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा आश्रय लिएर बसेका छन् भने गङ्गाप्रसाद बेघाको ६ सदस्यीय परिवार उहाँका दाजु दुर्गा बेघाको घरमा बसिरहेको छ ।
सोही क्षेत्रका भगीमान बेघाको घर पहिरोको उच्च जोखिममा परेपछि उहाँको ६ सदस्यीय परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
बाढीपहिरोका कारण कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल तथा खोलाघारी मगरडाँडाका दर्जनौँ घर जोखिममा परेका छन् । यस्तै, लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल तथा याङवरक–२ दोभानेस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ ।
बाढीले निर्माणाधीन दुई सडक पुलसमेत बगाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ दोभानेमा मेवा खोलामाथि निर्माणाधीन ४१ फिट लामो सडक पुल बगाउँदा सडक, डाइभर्सन र यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलमा समेत बाढीले ठूलो क्षति पुर्याएको छ । याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन तथा फलामे पाइपलगायत निर्माण सामग्री बाढीले बगाएको प्रहरी नायब उपरीक्षक कर्णले बताउनुभयो । पहिरो खसेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढी र पहिरोले विभिन्न जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ । याङवरक–२ मेवाखोलास्थित हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने पाँचथर–ताप्लेजुङ सीमास्थित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ । अरुण काबेली जलविद्युत् आयोजनामा समेत बाढीले असर पुर्याएको जनाइएको छ ।
यस्तै, याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ । बाढीपहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

