अनुदानको मल बिक्री विवरण अनलाइन प्रणालीमा अनिवार्य प्रविष्ट गर्न नुवाकोट कृषि कम्पनीको आग्रह



नुवाकोट,जेठ १० । नुवाकोट र रसुवा जिल्लास्थित सम्पूर्ण मल विक्रेता (डिलर)हरुलाई अनुदानमा उपलब्ध गराइएको रासायनिक मलको बिक्री विवरण अनिवार्य रूपमा अनलाइन प्रणालीमा प्रविष्ट गर्न नुवाकोट कृषि कम्पनी लिमिटेडको कार्यालयले आग्रह गरेको छ ।

कार्यालयद्वारा जारी सूचनाअनुसार यस कार्यालयबाट अनुदानको युरिया, डि.ए.पी. तथा पोटास मल खरिद गरी लगेका सम्पूर्ण डिलरहरुले आफ्नो तोकिएको क्षेत्रभित्रका कृषकहरुलाई मल बिक्री वितरण गरिसकेपछि अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम अनलाइन मल व्यवस्थापन प्रणाली (FMS) मा विवरण प्रविष्ट गर्नुपर्नेछ ।

त्यसैगरी सोही कार्यविधिको अनुसूची–७ बमोजिमको ढाँचामा बिक्री प्रतिवेदन तयार गरी सम्बन्धित स्थानीय तहबाट प्रमाणित गराएर कार्यालयमा पेश गर्न पनि अनुरोध गरिएको छ ।

कार्यालयले तोकिएको प्रक्रिया पालना नगर्ने डिलरहरुलाई आगामी दिनमा मल उपलब्ध गराउन बाध्य नहुने चेतावनीसमेत सूचनामार्फत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्