बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त छाउनीबाट पक्राउ



काठमाडौं,जेठ १० । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ निवासी ५३ वर्षीय प्रणवलाल सिंह रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई काठमाडौँ महानगरपालिका–१३ छाउनीबाट पक्राउ गरिएको हो ।

प्रवक्ता कार्कीले बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका सिंहलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्