बागमती नदीमा बेपत्ता दुई युवक मृत फेला
सर्लाही,जेठ १० । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता भएका दुई युवक आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–५ का २१ वर्षीय गणेश महतो र लालबन्दी नगरपालिका–९ का १८ वर्षीय रोहित महतो शनिबार दिउँसोदेखि बेपत्ता भएका थिए । घटना भएको करिब २४ घण्टापछि दुवै युवकको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार रोहितको शव बागमती सिँचाइ आयोजनाको ड्यामभन्दा तल खोलामा तथा गणेशको शव ड्यामभन्दा उत्तरतर्फ बागमती नगरपालिका–११ क्षेत्रमा फेला परेको हो ।
स्थानीय बासिन्दा, परिवारका सदस्य तथा सुरक्षाकर्मीको संयुक्त खोजी अभियानका क्रममा दुवै युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार शनिबार दिउँसो पाँच जना साथी नुनथर क्षेत्रमा घुमफिरका लागि गएका बेला बागमती खोलाले उनीहरूलाई बगाएको थियो । अन्य तीन जना युवा खोला तर्न सफल भए पनि रोहित र गणेश भने डुबेर बेपत्ता भएका थिए ।
स्थानीयका अनुसार रोहित र गणेशलाई बगाएको क्षेत्रमा यसअघि पनि पटक–पटक यस्ता दुर्घटना हुँदै आएका छन् । नुनथर तथा बागमती सिँचाइ आयोजनाको ड्याम आसपास पौडी खेल्न निषेध गरिएको भए पनि बाहिरी क्षेत्रबाट आउने युवाहरू खोलामा पस्ने गरेकाले दुःखद घटना दोहोरिने गरेको स्थानीयको भनाइ छ ।

