वडा तहदेखि राष्ट्रिय महाधिवेशनसम्म रास्वपाको रोडम्याप सार्वजनिक



काठमाडौं,जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार पार्टीको जेठ ६ गते बसेको केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार महाधिवेशन तयारीसम्बन्धी कार्यतालिका स्वीकृत गरिएको हो ।

उहाँले निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन सङ्कलनलगायतका कार्य जेठ ७ गतेदेखि सुरु भई तोकिएको समयभित्र सम्पन्न गरिने जानकारी दिनुभयो ।

सार्वजनिक कार्यतालिकाअनुसार जेठ ७ देखि १५ गतेसम्म ७७ जिल्ला तथा सातै प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ । यस्तै, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिनिधि पठाउने कार्य जेठ १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन जेठ २० गतेसम्म, जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्ने समय जेठ ३० गतेसम्म निर्धारण गरिएको छ ।

त्यसैगरी, महाधिवेशन प्रतिनिधिको नामावली जेठ २५ गतेसम्म पेस गर्नुपर्ने व्यवस्था गरिएको छ भने असार ५ गतेसम्म प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको विवरण पेस गर्ने तथा इलेक्ट्रिक भोटिङ मेसिन (ईभीएम) सम्बन्धी छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।

रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशन वडा तहदेखि सुरु हुने प्रक्रिया अनुसार पालिका, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म सञ्चालन गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्