नुवाकोट पञ्चकन्यामा रास्वपाको अधिवेशन सम्पन्न, रामचन्द्र कार्की सभापतिमा चयन



नुवाकोट,जेठ १० । नुवाकोटको पञ्चकन्या गाउँपालिका आइतबार राजनीतिक चहलपहलले भरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गाउँपालिका अधिवेशनका लागि स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न दलका प्रतिनिधिहरू एकै ठाउँमा जुट्दा गाउँको माहोल नै राजनीतिक उत्साहले तातेको हो ।

गाउँपालिका स्तरमा संगठन विस्तारलाई तीव्र बनाइरहेको रास्वपाले पञ्चकन्यामा पनि नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सक्रिय बनाउने सन्देश दिएको छ । अधिवेशनले रामचन्द्र कार्कीको नेतृत्वमा नयाँ गाउँपालिका समिति चयन गरेको हो ।

नयाँ समितिको उपसभापतिमा उतम पण्डित, सचिवमा मुरारी खनाल तथा सहसचिवमा अभिषेक खतिवडा चयन भएका छन् । सदस्यहरूमा पार्वती थापा लगायत रहेका छन् । नयाँ नेतृत्व चयनसँगै स्थानीय स्तरमा पार्टीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

अधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित भएन । कार्यक्रममा सहभागी नेताहरूले वर्तमान राजनीतिक अवस्था, सुशासन, युवाको भूमिका तथा स्थानीय विकासका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा नुवाकोट क्षेत्र नम्बर १ का संघीय सांसद एवम् सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिना प्रमुख आकर्षणका रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँले जनताको अपेक्षा अनुसार काम गर्ने राजनीति आवश्यक रहेको बताउँदै नयाँ पुस्ताको सक्रिय सहभागिताले देशको राजनीतिक संस्कार परिवर्तन गर्न सक्ने धारणा राख्नुभयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रामकृष्ण भट्टराई ले संगठन विस्तारसँगै जनविश्वास जोगाइराख्नु चुनौतीपूर्ण भए पनि पार्टी त्यसतर्फ प्रतिबद्ध रहेको बताउनुभयो । जिल्ला सभापति रामेश्वर गजुरेल ले जिल्लाभर पार्टी संगठनलाई वडा तहसम्म विस्तार गर्ने अभियान जारी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, नेकपाका अध्यक्ष छिरिङ तामाङ, नेकपा एमाले पञ्चकन्याका अध्यक्ष रामनाथ खनाल लगायत विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूको पनि उपस्थिति रहेको थियो । फरक राजनीतिक धारका नेताहरू एउटै कार्यक्रममा देखिनु स्थानीय तहमा सहकार्य र राजनीतिक सहिष्णुताको संकेतका रूपमा समेत हेरिएको छ ।

अधिवेशनमा सहभागी कार्यकर्ताहरूले नयाँ नेतृत्वसँग गाउँस्तरमा जनताका समस्या उठाउने, युवालाई राजनीतिमा आकर्षित गर्ने तथा विकास र सुशासनका मुद्दालाई प्राथमिकतामा राख्ने अपेक्षा व्यक्त गरेका थिए ।

पछिल्लो समय देशभर संगठन विस्तारमा सक्रिय देखिएको रास्वपाले स्थानीय तहमा पनि आफ्नो उपस्थिति बलियो बनाउन थालेको सन्देश पञ्चकन्याको अधिवेशनले दिएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्