काठमाडौंबाट दुई घण्टामै पुगिने स्वर्गजस्तै गन्तव्य घ्याङ्स्वारा पार्क: मन्त्री तिमिल्सिना



नुवाकोट,जेठ १० । नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित पर्यटकीय घ्याङ्स्वारा पार्क यतिबेला पुनः चर्चामा आएको छ। नुवाकोट क्षेत्र नम्बर १ का संघीय सांसद एवम् सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिना ले सामाजिक सञ्जाल फेसबुकमार्फत घ्याङ्स्वाराको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाको खुलेर प्रशंसा गरेपछि यो स्थानप्रति धेरैको ध्यान आकर्षित भएको हो।

मन्त्री तिमिल्सिनाले फेसबुकमा लेख्दै पञ्चकन्या गाउँपालिका स्थित घ्याङ्स्वारा काठमाडौंबाट निकै नजिक रहेको रमणीय पर्यटकीय क्षेत्र भएको उल्लेख गर्नुभएको छ। समुद्री सतहबाट करिब १९०० मिटर उचाइमा रहेको यस स्थानबाट नुवाकोटको विशाल भौगोलिक दृश्यावलोकन गर्न सकिने उहाँले बताउनुभएको छ। हरियाली डाँडाकाँडा, खुला आकाश र हिमाली दृश्यसँगै यहाँको वातावरणले आन्तरिक पर्यटकलाई सहजै लोभ्याउने गरेको स्थानीय बताउँछन्।

घ्याङ्स्वाराको मुख्य आकर्षणमध्ये सुन्दर चियाबारी र सहिद स्मृति पार्कलाई पनि मन्त्री तिमिल्सिनाले विशेष रूपमा उल्लेख गर्नुभएको छ। पछिल्ला वर्षहरूमा स्थानीय तह पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र स्थानीय समुदायको सक्रियतासँगै यहाँ पर्यटकको आगमन क्रमशः बढ्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यकाबाट छोटो दूरीमै पुग्न सकिने भएकाले घ्याङ्स्वारा सप्ताहन्त यात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

प्राकृतिक सौन्दर्यसँगै स्थानीय स्वाद र ग्रामीण जीवनशैलीको अनुभव पनि घ्याङ्स्वाराको अर्को विशेषता बनेको छ। मन्त्री तिमिल्सिनाले आइतबार बिहान त्यहीँको बोटबाट काफल र ऐंसेलु टिपेर खाने अवसर मिलेको अनुभव समेत सामाजिक सञ्जालमा साझा गर्नुभएको छ। उहाँको यो अनुभवले धेरैलाई गाउँको मौलिक स्वाद र प्रकृतिसँग जोडिने अवसर सम्झाएको छ।

“यदि तपाईंलाई काठमाडौंबाट दुई घण्टामै कुनै मनमोहक ठाउँको यात्रा गर्न मन छ भने त्यो घ्याङ्स्वारा हुनसक्छ,” मन्त्री तिमिल्सिनाले फेसबुकमा उल्लेख गर्नुभएको छ।

स्थानीयवासीका अनुसार घ्याङ्स्वारा क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत प्रचार बढ्दै जाँदा यो क्षेत्र नुवाकोटको प्रमुख सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विस्तारै स्थापित हुँदै गएको छ। यहाँ दैनिकजसो सयौं सवारीसाधन मार्फत हजारौं आन्तरिक तथा बाह्य पर्यटक भित्रने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्