नुवाकोटको विदुरस्थित १ नम्बर पुलमा फोटो–भिडियो खिच्ने क्रम बढ्दो, प्रहरीद्वारा सतर्क रहन आग्रह



नुवाकोट,जेठ १० । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ र १० को संगमस्थलस्थित १ नं. पुल क्षेत्र पछिल्लो समय फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने आकर्षक गन्तव्य बन्दै गएको छ । विशेषगरी युवापुस्तामाझ उक्त क्षेत्रमा पुगेर नदी किनार तथा पुल आसपासका दृश्य कैद गर्ने क्रम बढ्दै गएको देखिएको हो ।

तर वर्षायाम नजिकिँदै जाँदा नदीको बहाव दिनप्रतिदिन बढ्दै गएको र जोखिमसमेत उच्च बन्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । प्रहरीका अनुसार नदी आसपासमा फोटो वा भिडियो खिच्ने क्रममा असावधानी अपनाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको जनाएको हो ।

प्रहरीले नदीको बहाव, मौसमको अवस्था तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित दूरी कायम गर्न, जोखिमयुक्त स्थानमा नजान तथा सामाजिक सञ्जालका लागि सामग्री बनाउने क्रममा ज्यान जोखिममा नराख्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले नदी तथा पुल आसपासका क्षेत्रमा अनावश्यक भीड नगर्न र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्