निर्वाचन समीक्षा गर्न बादलको नेतृत्वमा कार्यदल, एमालेले गर्‍यो पदाधिकारीको वरियता निर्धारण



काठमाडौं,जेठ ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले पछिल्लो निर्वाचनको आङ्कलन तथा पार्टीको समिक्षात्मक अध्ययन गर्न उपाध्यक्ष रामबहादुर थापा को संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

एमाले उपमहासचिव लेखराज भट्ट का अनुसार गठित कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू पद्मा अर्याल, छविलाल विश्वकर्मा तथा आठवटै प्रदेशका इन्चार्जहरू सदस्य रहेका छन् । कार्यदललाई एक महिनाभित्र समीक्षा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको बताइएको छ ।

बैठकले पार्टी पदाधिकारीहरूको नयाँ वरियता पनि निर्धारण गरेको छ ।निर्णयअनुसार अध्यक्षपछि दोस्रो वरियतामा रामबहादुर थापा, तेस्रोमा विष्णुप्रसाद पौडेल, चौथोमा पृथ्वीसुब्बा गुरुङ, पाँचौंमा गोकर्ण विष्ट, छैटौंमा रघुजी पन्त, सातौंमा शंकर पोखरेल, आठौंमा लेखराज भट्ट, नवौंमा योगेश भट्टराई र दशौंमा रघुवीर महासेठ रहनुभएको छ ।

त्यसैगरी सचिवहरूको वरियतामा छविलाल विश्वकर्मा ११ औं, पद्मा अर्याल १२ औं, खगराज अधिकारी १३ औं, भानुभक्त ढकाल १४ औं, यमलाल कँडेल १५ औं, शेरधन राई १६ औं, राजन भट्टराई १७ औं, हिक्मत कार्की १८ औं तथा महेश बस्नेत १९ औं नम्बरमा रहनुभएको जानकारी दिइएको छ ।

यस्तै, बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल पनि गठन गरेको छ । उक्त कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो, अग्नि खरेल, महेश बर्तौता, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, पासाङ शेर्पा, रमेश बडाल र अमर थापा सदस्य रहेका छन् ।

बैठकले पार्टी केन्द्रीय कार्यालयको नयाँ भवन मदननगर बल्खुमा निर्माण गर्ने निर्णयसमेत गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्