बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि



हेटौँडा, जेठ ११। बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटका प्राथमिकताबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

बागमती प्रदेश सरकारको सिफारिसमा दीपकप्रसाद देवकोटा ले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नुभएको हो ।

यस अधिवेशनलाई आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट निर्माणसँग जोडेर महत्त्वपूर्ण रूपमा हेरिएको छ ।प्रदेश सरकारले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट ल्याउने तयारी गरेको जनाएको छ ।

प्रदेशसभाको वर्षे अधिवेशन सुरु भएसँगै सरकारका आगामी योजनामाथि सत्ता पक्ष र प्रतिपक्षबीच गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्