संविधान संशोधनमा आठ एजेन्डा, सुझाव सङ्कलन तीव्र
काठमाडौँ, जेठ ११। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीयता कार्यान्वयन र न्यायालय सुधारलगायत आठ मुख्य विषयमा सुझाव सङ्कलनलाई तीव्र बनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको कार्यदलले राजनीतिक दल, नागरिक समाज, कानुनविद् तथा सरोकारवालासँग छलफल गरिरहेको जनाएको छ ।कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी, मन्त्री नियुक्ति प्रणाली, निर्वाचन प्रणाली, विदेशमा रहेका नेपालीको मताधिकार र ‘राइट टु रिकल’ सम्बन्धी विषयमा पनि सुझाव लिइँदै छ ।
त्यस्तै प्रदेश संरचना, मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन, स्थानीय तहको दलीय वा दलविहीन व्यवस्था, न्यायपालिकाको सुधार, न्यायाधीश नियुक्ति प्रणाली र संवैधानिक निकायको संरचनाबारे समेत बहस केन्द्रित गरिएको छ ।
कार्यदलले प्राप्त सुझावलाई परिस्कृत गरी संविधान संशोधन बहसको आधारपत्र तयार पारिने जनाएको छ ।

