रसुवा जाँदै गरेका युवकबाट ४३ हजार अमेरिकी डलर बरामद
रसुवा, जेठ ११ । सार्वजनिक यातायातमार्फत काठमाडौंबाट रसुवा जाँदै गरेका एक युवकको साथबाट प्रहरीले ४३ हजार अमेरिकी डलर बरामद गरेको छ ।
सोमबार बिहान रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डमा चेकजाँचका क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ घर भएका ३७ वर्षीय सुशिल गुरुङ रहेका छन् । उनी बा.प्र.०१–००६ ख ९५१५ नम्बरको यात्रुवाहक बसमा चढेर टिमुरेतर्फ जाँदै थिए ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बस रोकेर खानतलासी गर्दा गुरुङको साथबाट ४३ हजार अमेरिकी डलर बरामद भएको हो । बरामद रकमसहित गुरुङलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

