एसइईमा उत्कृष्टलाई तारकेश्वरको सम्मान : ४ जिपीए ल्याउने विद्यार्थीलाई जनही ५० हजार



नुवाकोट, जेठ १२ । गाउँपालिकाले आफ्ना विद्यार्थीको सफलतालाई सम्मान गर्दा त्यसले केवल पुरस्कार मात्र होइन, शिक्षा प्रतिको भरोसा र नयाँ पुस्ताप्रतिको अपेक्षालाई पनि उजागर गर्छ । यही सन्देश दिएको छ तारकेश्वर गाउँपालिका ले ।

एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गाउँपालिकाले ४ जिपीए ल्याउने छात्रछात्रालाई नगदसहित सम्मान गरेको हो । सोमवार गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव अधिकारी ले एसइईमा ४ जिपीए प्राप्त गर्ने तीन जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसहित ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गर्नुभयो ।

पुरस्कृत हुने विद्यार्थीहरुमा प्राजन प्रधान, सम्पदा श्रेष्ठ र दिलासा पौडेल रहेका छन् । सम्मान ग्रहण गर्दै विद्यार्थीहरुले गाउँपालिकाबाट प्राप्त प्रोत्साहनले आगामी अध्ययन यात्रामा थप हौसला मिलेको बताएका थिए ।

कार्यक्रममा अध्यक्ष अधिकारीले मेहनत, अनुशासन र निरन्तर अध्ययनले मात्रै सफलता सम्भव हुने उल्लेख गर्दै गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । “विद्यार्थीको सफलता नै गाउँपालिकाको गौरव हो,” उहाँको भनाइ थियो ।

त्यसैगरी, गत वर्षको एसइई परीक्षामा गाउँपालिका भित्रका विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउने श्रीकृष्ण माध्यमिक विद्यालय की छात्रा सुनिता रोक्का र सोही विद्यालयका छात्र पवन ढकाल लाई जनही ८ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।

विद्यालयस्तरमै उत्कृष्ट नतिजा हासिल गर्ने शङ्खादेवी माध्यमिक विद्यालय लाई २५ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रोत्साहन गर्दै शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने स्थानीय अभिभावकहरुको विश्वास छ । गाउँपालिकाले आगामी वर्षहरुमा पनि शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्