हुरीका कारण ट्याक्टरमा रुखको हाँगा खस्दा एकको मृत्यु



बारा,जेठ १२ । बारा जिल्लाको निजगढ मा सोमबार साँझ आएको भीषण हुरीका क्रममा ट्याक्टरमाथि रुखको हाँगा खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निजगढ नगरपालिका–४ निवासी ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना७त ५१५० नम्बरको ट्याक्टरमाथि हुरी चलिरहेका बेला अचानक रुखको हाँगा भाँचिएर खसेको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका अर्याललाई तत्काल उपचारका लागि निजगढस्थित सामुदायिक अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।

उक्त घटनामा ट्याक्टरमा सवार नुवाकोटको सूर्यगढी गाउँपालिका–१ लज्याङ घर भई हाल निजगढ–५ बागदेव बस्दै आएका ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक निजगढ नगरपालिका–४ पुरानो टोल निवासी ५० वर्षीय बुद्धमान बल भने सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्