नुवाकोट दुप्चेश्वरको करेजुङमा आधुनिक प्रसुति गृह सञ्चालन, दुर्गम बस्तीमा सुरक्षित मातृत्व सेवा



नुवाकोट, जेठ १२ — सदरमुकामदेखि टाढा रहेका ग्रामीण बस्तीका महिलाले अब सुरक्षित सुत्केरी सेवाका लागि घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । नुवाकोटको उत्तरी भेगस्थित दुप्चेश्वर गाउँपालिका–६ करेजुङमा आधुनिक प्रसुति गृह निर्माण सम्पन्न भएसँगै स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

सोमबार आयोजित कार्यक्रममा सुविधासम्पन्न प्रसुति सेवा केन्द्र (बर्थिङ सेन्टर) को उद्घाटन तथा औपचारिक हस्तान्तरण गरिएको हो । यससँगै प्रसुति गृहको सम्पूर्ण सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी गाउँपालिकामा आएको हो ।

वर्षौँदेखि प्रसुति सेवाका लागि सदरमुकाम विदुर वा राजधानी काठमाडौं धाउन बाध्य स्थानीयवासीका लागि यो सेवा केन्द्र राहतको आधार बनेको छ । विकट भौगोलिक अवस्थाका कारण जोखिमपूर्ण यात्रा गर्दै अस्पताल पुग्नुपर्ने समस्या अब धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा का अनुसार दुर्गम क्षेत्रका नागरिकले सहज, सुरक्षित र गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा पाउने उद्देश्यसहित केन्द्र सञ्चालनमा ल्याइएको हो । उहाँले नवनिर्मित बर्थिङ सेन्टरले विशेषगरी गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रसूति गृह गुड नेगबर (Good Neighbors International Nepal) को आर्थिक सहयोग, रुडेक नेपाल (RUDEC Nepal) को साझेदारी तथा गाउँपालिकाको सहकार्यमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको हो । एक तले पाँच कोठे आधुनिक भवनमा आवश्यक स्वास्थ्य उपकरण, प्रसुति सामग्री र आधारभूत सेवा संरचना जडान गरिएको छ ।

कुल ४८ लाख २९ हजार ४०३ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको परियोजनामा गाउँपालिकाले ४ लाख ९० हजार ५१५ रुपैयाँ र गुड नेवर्स इन्टरनेशनल नेपालले ४३ लाख ३८ हजार ८८८ रुपैयाँ लगानी गरेको मीनकुमार केसी ले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण सुरु भएको करिब छ महिनामै सम्पन्न गरी उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष माकुरी तामाङ ले प्रसुति गृह सञ्चालनसँगै ग्रामीण स्वास्थ्य सेवामा प्रभावकारिता बढ्ने बताउनुभयो । विशेषगरी महिलाहरूले सुरक्षित सुत्केरी सेवाको पहुँच गाउँमै पाउनु ठूलो उपलब्धि भएको उहाँको भनाइ थियो ।

प्रसूति गृह निर्माणका लागि आवश्यक जग्गा स्थानीय मुई लामा तामाङ र शिर लामा तामाङले निःशुल्क उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा उहाँहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको थियो ।

सदरमुकाम विदुरदेखि करिब ४० किलोमिटर उत्तरमा रहेको करेजुङ क्षेत्रमा करिब पाँच सय घरधुरीका झण्डै तीन हजार स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ । स्थानीयवासीका अनुसार प्रसुति सेवाको अभावका कारण घरमै सुत्केरी हुने जोखिम अझै रहेको अवस्थामा आधुनिक सेवा केन्द्र सञ्चालनले ठूलो राहत मिलेको छ ।रजिन्द्रविक्रम सिंह ठकुरी ले यो प्रसुति गृह दुप्चेश्वर क्षेत्रको मातृ–शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण फड्को सावित हुने बताउनुभयो । उहाँका अनुसार घरमै हुने सुत्केरीलाई शून्यमा झार्ने लक्ष्यसहित सेवा केन्द्र निर्माण गरिएको हो ।

प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाम नजिकै सञ्चालनमा आएको यो आधुनिक प्रसुति गृहले अब दुर्गम गाउँका महिलालाई सुरक्षित मातृत्व सेवाको भरोसा दिएको छ । स्वास्थ्य सेवा पहुँचभन्दा टाढा रहेका समुदायका लागि यो केन्द्र केवल एउटा भवन मात्र नभई जीवन र आशाको नयाँ आधार बनेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्