उपचारको आशामा संघर्षरत नुवाकोट दुप्चेश्वरकी अनीता, सहयोगले जाग्यो नयाँ भरोसा
नुवाकोट, जेठ १३ । नुवाकोटको दुर्गम उत्तरी भेग दुप्चेश्वर गाउँपालिका–७ सेराङकी एक बालिका गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाइ भोगिरहेको परिवारलाई अहिले विभिन्न संघसंस्थाको सहयोगले केही राहत मिलेको छ ।
सेराङकी अनीता तामाङलाई लामो समयदेखि हाइड्रोसेफालुस रोगले सताउँदै आएको छ । जटिल प्रकृतिको उक्त रोगका कारण उनको दोस्रो पटक टाउकोको शल्यक्रिया समेत गरिएको छ । चिकित्सकको सल्लाहअनुसार उनी हाल पूर्ण रूपमा बेड रेस्टमा रहेकी छन् ।
अनीताको उपचारका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्था रुडेक नेपाल र गुड नेवोर इन्टरनेशनल नेपालले संयुक्त रूपमा दुई लाख ५२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । प्राप्त सहयोगले उपचार खर्च, औषधोपचार तथा दैनिक आवश्यक व्यवस्थापनमा ठूलो सहयोग पुगेको परिवारले जनाएको छ ।
रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीका अनुसार लामो समयदेखि उपचाररत बालिकाको परिवार आर्थिक रूपमा निकै कमजोर भएकाले सहयोग गरिएको हो । “उपचार प्रक्रिया निकै खर्चिलो छ । प्राप्त सहयोगले परिवारलाई केही सहज भएको छ,” अध्यक्ष केसीले भन्नुभयो ।
दुर्गम गाउँमा बसोबास गर्ने अनीताको परिवार अहिले छोरीको स्वास्थ्य सुधारको आशामा आर्थिक सहयोग संकलनमा जुटिरहेको छ ।लगातारको उपचार, अस्पताल बसाइ र औषधोपचारको खर्च धान्न कठिन भएपछि परिवारले सहयोगका लागि अपिलसमेत गरेको छ ।
स्वास्थ्य सेवामा पहुँच कमजोर रहेको ग्रामीण क्षेत्रमा यस्ता जटिल रोगसँग जुधिरहेका परिवारका लागि सामाजिक संघसंस्था र समुदायको साथले ठूलो सहारा दिने गरेको स्थानीयवासी बताउँछन् । अनीताको उपचार सफल होस् भन्ने कामनासहित अहिले गाउँमा सहयोग र सद्भावका स्वरहरू पनि बढ्न थालेका छन् ।

