नुवाकोटको बेलकोटगढीमा ६५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न



नुवाकोट,जेठ १३ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा गत चैत ६ गतेदेखि सञ्चालन गरिएको ६५ दिने निःशुल्क बारिष्टा तालिम कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रविधि तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद्को सहकार्यमा बेलकोटगढी नगरपालिकाद्वारा सञ्चालित उक्त तालिमको समापनसँगै सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा सञ्चालन गरिएको ३९० घण्टे तालिम समापन समारोह नगरप्रमुख जगतबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरप्रमुख गुरुङले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको मेहनत, लगनशीलता र सिकाइप्रतिको उत्साहको प्रशंसा गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख गुरुङले सीप सिकेर मात्र नहुने, त्यसलाई व्यवहारमा उतारेर रोजगारी र उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले “सीप भए अवसर आफैं आउँछ, त्यसलाई उपयोग गर्न सक्ने क्षमता विकास गर्नु नै मुख्य कुरा हो” भन्दै तालिमबाट प्राप्त ज्ञानलाई स्वरोजगार र आयआर्जनसँग जोड्न आग्रह गर्नुभयो ।

नगरप्रमुख गुरुङले युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले आगामी दिनमा पनि विभिन्न सीपमूलक तालिमलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष भुवनेश्वर नेपाल, कार्यपालिका सदस्य गमला लामा, महादेव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाईराम नेपाल लगायतको सहभागिता रहेको थियो ।

बेलकोटगढी नगरपालिकाले युवाहरूलाई सीप सिकाएर आर्थिक उपार्जनमा जोड्ने उद्देश्यले विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आएको जनाएको छ । स्थानीय तहबाट सञ्चालन गरिने यस्ता तालिमले युवालाई स्वरोजगार बनाउनुका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाएर आफ्नै ठाउँमा उद्यमशील बन्न प्रेरित गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्