४५ दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी



भक्तपुर,जेठ १३ । राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा १२ को परीक्षाफल परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनसम्बन्धी कामलाई तीव्र बनाउँदै आधाभन्दा बढी प्रक्रिया सम्पन्न गरिसकेको जनाएको छ ।

परीक्षा सकिएको दुई सातामात्र भएको अवस्थामा उत्तरपुस्तिका परीक्षणको काम ५० प्रतिशतभन्दा बढी पूरा भइसकेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्मा ले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण सकिएका उत्तरपुस्तिकाको प्राप्ताङ्क सम्परीक्षण गरी कम्प्युटरमा प्रविष्ट गर्ने कामसमेत तीव्र गतिमा भइरहेको छ ।

“जुन विषयको उत्तरपुस्तिका परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण तत्काल सुरु हुन्छ । सम्परीक्षण सकिनेबित्तिकै प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम पनि भइरहेको छ,” नियन्त्रक शर्माले भन्नुभयो । नतिजा प्रकाशनलाई छिटो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरेको थियो । अहिले देशभरका ४२ वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।

नियन्त्रक शर्माले परीक्षा सकिएको ४५ दिनभन्दा ढिलो नतिजा नहुने दाबी गर्दै सकेसम्म अझै छिटो नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो ।

यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १८ हजार परीक्षार्थी सहभागी भएका थिए । यसअघि बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा परीक्षा सकिएको २९ दिनमै सार्वजनिक गरेर नयाँ रेकर्ड कायम गरेको थियो ।

सामान्यतया एसइई र कक्षा १२ को नतिजा प्रकाशन हुन तीन महिनासम्म लाग्ने गरे पनि यस पटक बोर्डले छिटो नतिजा सार्वजनिक गर्ने तयारीलाई प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्