काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण पुष्टि, गोकर्णेश्वरका तीन वडामा उच्च सतर्कता
काठमाडौं,जेठ १३ । काठमाडौँ उपत्यकामा बर्डफ्लुको सङ्क्रमण देखिएपछि गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
नगरपालिकाका वडा नं. २, ३ र ४ मा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एचपिएआई) अर्थात् ‘बर्डफ्लु’ रोग पुष्टि भएपछि नियन्त्रणका उपायहरू तीव्र पारिएको हो ।
नगरपालिकाका अनुसार सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट, अन्डा तथा दानालगायत रोग सार्न सक्ने सामग्री नष्ट गरी सुरक्षित रूपमा डिस्पोज तथा निःसङ्क्रमण (डिसइन्फेक्सन) गर्ने काम भइरहेको छ ।
बर्डफ्लु पशुपन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले यसको नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पन्छीपालन फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन आग्रह गरेको छ । प्रवेश गराउनै परे अनिवार्य रूपमा निःसङ्क्रमण गर्नुपर्ने तथा एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।
यस्तै, प्रयोग भइसकेका अन्डा राख्ने कागजी क्रेट पुनः प्रयोग नगर्न, फार्म प्रवेशद्वारमा चुना वा निःसङ्क्रामक औषधीसहितको ‘फुटबाथ’ राख्न तथा फार्मभित्र छुट्टै बुट र एप्रोन प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।
स्वास्थ्य तथा पशु सेवा सम्बन्धी निकायले बर्डफ्लु नियन्त्रणका लागि स्थानीय तह, किसान तथा सर्वसाधारणलाई सतर्क रहन र कुनै असामान्य घटना देखिएमा तत्काल जानकारी गराउन अनुरोध गरेका छन् ।

