विद्यार्थीका सुझाव सुन्दै जनप्रतिनिधि, नुवाकोटको देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न
विदुर, जेठ १३ । विदुर नगरपालिकाको आयोजनामा विदुर–५ देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख राजन श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा वडा नं ३, ५ तथा वडा नं १२ अन्तर्गतको बिरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग शैक्षिक क्षेत्रसँग सम्बन्धित सुझाव, गुनासा, राय तथा प्रतिक्रियाहरू संकलन गरिएको थियो । साथै विद्यालयमा रहेका सकारात्मक पक्ष तथा सुधार र परिमार्जन गर्नुपर्ने विषयमा समेत छलफल गरिएको नगरपालिकाले जनाएको छ ।
विद्यार्थीहरूको सहभागितामार्फत शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणका विषयमा जनप्रतिनिधिले प्रत्यक्ष धारणा सुन्ने अवसर पाएको कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, सामाजिक विकास समितिका संयोजक एवं वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपाने, शिक्षा शाखा प्रमुख नमराज सापकोटा, शाखामा आबद्ध कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

