प्लाष्टिकको बढ्दो संकटबीच नुवाकोट बेलकोटगढीमा सरसफाइ अभियान, पाण्डेको पहलमा सार्वजनिक स्थलमा डस्टबिन
नुवाकोट,जेठ १४ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. १० मा पछिल्ला वर्षहरूमा प्लाष्टिकजन्य फोहोर बढ्दै जाँदा स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । सडक किनार, चौतारा, सार्वजनिक स्थल र खोल्साखोल्सीमा जथाभावी फालिने प्लाष्टिकले वातावरणीय सौन्दर्य मात्र बिगारेको छैन, मानव स्वास्थ्यमा समेत असर पार्न थालेपछि स्थानीय तहमा सरसफाइप्रति नयाँ जागरण सुरु भएको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै वडा नं. १० मा डस्टबिन वितरण तथा सरसफाइ अभियान सुरु गरिएको छ । सार्वजनिक स्थललाई सफा राख्ने, प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्ने र स्थानीयवासीमा वातावरण संरक्षणबारे सचेतना फैलाउने उद्देश्यसहित अभियान अघि बढाइएको हो ।
अभियानअन्तर्गत जर्मन नागरिक थोमस शिव र वर्षा थपलियाको सहयोगमा २० वटा डस्टबिन विभिन्न सार्वजनिक स्थानमा राखिएको छ । स्थानीयस्तरमा लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय पूर्व जनप्रतिनिधि राजाराम पाण्डेको अगुवाइमा अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रमका आयोजक तथा कोअर्डिनेटर पाण्डेका अनुसार पछिल्लो समय वडा क्षेत्रमा प्लाष्टिकजन्य फोहोर तीव्र रूपमा बढ्दै गएको छ । “प्लाष्टिक फोहोरले वातावरण मात्र होइन, मानव स्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको छ,” उनले भने, “त्यसैले सरसफाइलाई अभियानकै रूपमा अघि बढाउन आवश्यक ठानेका हौं ।”
उनका अनुसार अब वडा नं. १० भरि एक सातासम्म स्वयंसेवक परिचालन गरेर विशेष सफाइ तथा प्लाष्टिक फोहोर संकलन अभियान सञ्चालन गरिनेछ । अभियानमा स्थानीय युवा, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।
कार्यक्रमको औपचारिक सुरुवात रेडक्रसकर्मी तथा समाजसेवी श्रीराम पाण्डेले गरेका थिए । उनले पछिल्लो समय बढ्दो प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण गाउँ–सहर दुवै प्रभावित भइरहेकाले यस्ता अभियान अत्यन्त आवश्यक भएको बताए ।
उनले डस्टबिन वितरण मात्र समाधान नभएको उल्लेख गर्दै प्लाष्टिकको प्रयोग कम गर्ने, पुनःप्रयोगलाई प्रोत्साहन गर्ने र फोहोरको उचित व्यवस्थापनतर्फ प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।स्थानीयवासीले पनि अभियानलाई सकारात्मक रूपमा लिएका छन् । सार्वजनिक स्थलमा डस्टबिन राखिएपछि जथाभावी फोहोर फाल्ने प्रवृत्तिमा कमी आउने र वातावरण सफा राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

