शब्दले जितेको शिखर : नुवाकोट शिवपुरीकी सदिक्षाले जितिन बागमती प्रदेश स्तरीय निबन्ध प्रतियोगिता



नुवाकोट,जेठ १४ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा रहेको जनज्ञान निकेतन माध्यमिक विद्यालय यतिबेला गर्वले उज्यालिएको छ। कारण हो—त्यही विद्यालयमा अध्ययनरत छात्रा सदिक्षा भण्डारीले प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु।

१८औँ गणतन्त्र दिवस २०८३ को अवसरमा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले आयोजना गरेको “गणतन्त्र स्थापनाको १८ वर्षः कार्यान्वयन र चुनौती” विषयक माध्यमिक तह (कक्षा ९–१२) स्तरीय निबन्ध प्रतियोगितामा सदिक्षाले आफ्नो प्रखर लेखन क्षमता र गहिरो चिन्तनमार्फत शीर्ष स्थान सुरक्षित गरेकी हुन्।

निर्देशनालयले यही जेठ ११ गते सूचना प्रकाशित गर्दै प्रतियोगिताको आह्वान गरेको थियो। निर्धारित समय जेठ १३ गते साँझ ५ बजेसम्म प्रदेशभरबाट १६१ वटा निबन्ध प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट ठहरिँदै सदिक्षाले प्रथम स्थान हात पारिन्। बिहीबार सार्वजनिक नतिजासँगै जनज्ञान निकेतन विद्यालयमा खुसीको लहर फैलिएको छ।

विद्यालयले सदिक्षाको सफलतालाई केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण विद्यालय परिवारको गौरवका रूपमा व्याख्या गरेको छ। विद्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “तिम्रो प्रखर चिन्तन र जाज्वल्यमान शब्द–शिल्पले प्रदेशस्तरीय मञ्चमा शीर्ष सफलताको स्वर्णध्वजा फहराउन सफल भएकोमा विद्यालय परिवार हार्दिक बधाई व्यक्त गर्दछ।”

विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले सदिक्षाको साहित्यिक साधनाले विद्यालयको गरिमालाई “सगरमाथाझैँ उच्च” बनाएको बताउनुभयो । उनका सिर्जनात्मक शब्दहरू सम्पूर्ण विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको उहाँको भनाइ छ ।

गाउँका सामान्य परिवेशबाट उठेर प्रदेशस्तरीय प्रतिस्पर्धामा पहिलो बन्नु केवल पुरस्कार जित्नु मात्र होइन, त्यो संघर्ष, अध्ययन र चेतनाको उडान पनि हो। गणतन्त्रका उपलब्धि र चुनौतीजस्तो गम्भीर विषयमा आफ्ना विचारलाई सशक्त रूपमा अभिव्यक्त गर्न सफल सदिक्षाले नयाँ पुस्तामा लेखन र विचारको शक्ति कति प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन्।

विद्यालयले उनको भविष्यप्रति पनि गहिरो विश्वास व्यक्त गरेको छ। “तिम्रो चेतनाको यो सिर्जनात्मक उडान नेपाली वाङ्मयको क्षितिजमा देदीप्यमान नक्षत्रका रूपमा स्थापित होस्,” विद्यालयद्वारा प्रकाशित शुभकामना सन्देशमा उल्लेख छ।

यस प्रतियोगितामा दोस्रो स्थान रामेछापको मन्थली माध्यमिक विद्यालयकी रिश्ता कार्कीले हासिल गरेकी छन्। त्यसैगरी सिन्धुलीस्थित गौमती माध्यमिक विद्यालयका निराकार सिग्देल तथा फ्लोरोसेन्ट माध्यमिक विद्यालयकी अनुश्री मिश्र र काठमाडौंको विद्याश्री पाठशालाका आयुष घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन्।

सदिक्षाको यो सफलता केवल एउटा पुरस्कारको कथा होइन, यो ग्रामीण विद्यालयबाट पनि प्रतिभा चम्किन सक्छ भन्ने सन्देश हो। शब्द र विचारको यात्रामा अघि बढेकी यी छात्राले अब धेरै युवालाई कलम समाउन प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्