काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै
काठमाडौं,जेठ १५ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि सञ्चालन गर्ने छनोट परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुन योग्य भएको जनाएको छ । आवेदन दिएका २६ हजार ८८८ विद्यार्थীমध्ये २०८ जनाको फाराम अस्वीकृत भएको कामपाले जानकारी दिएको हो ।
कामपाका शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काका अनुसार परीक्षार्थीहरूले आफूले आवेदन दिएको प्रणालीमार्फत नै प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् । प्रवेशपत्रमा परीक्षा केन्द्रसहित परीक्षार्थीले पालना गर्नुपर्ने नियम तथा दायित्व उल्लेख गरिएको छ ।
खड्काले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीको नाममा अरूले परीक्षा दिन नपाओस् भन्ने उद्देश्यले प्रवेशपत्र अनिवार्य रूपमा रङ्गीन प्रिन्ट गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार ब्ल्याक एन्ड ह्वाइट प्रिन्ट गरिएको वा स्पष्ट फोटो तथा विवरण नभएको प्रवेशपत्र मान्य हुने छैन ।
काठमाडौँ महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गर्दै महानगर क्षेत्रभित्र कक्षा ११ र १२ सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा प्रणाली सुरु गरेको हो । यस वर्षको छात्रवृत्ति छनोट परीक्षा यही जेठ १७ गते सञ्चालन हुने तय गरिएको छ ।
परीक्षार्थीहरूले कामपाको आधिकारिक पोर्टलमार्फत लगइन गरेर प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् । लगइन गर्न एसइईको सिम्बोल नम्बर युजरनेमका रूपमा प्रयोग गर्नुपर्नेछ भने जन्ममिति र इमेल वा मोबाइल सन्देशमार्फत प्राप्त पासवर्ड राखेपछि पेज खुल्ने व्यवस्था गरिएको छ ।
परीक्षा केन्द्रमा उपस्थित हुँदा परीक्षार्थीले रङ्गीन प्रवेशपत्रसँगै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा ल्याउनुपर्नेछ । यसमा एसइई प्रवेशपत्र, विद्यालयको परिचयपत्र वा नागरिकताको प्रमाणपत्र मान्य हुनेछ । प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षा आचारसंहिताको पूर्ण पालना गर्न पनि निर्देशन दिइएको छ । नियम उल्लङ्घन गरेमा परीक्षा रद्द गरिनुका साथै कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
परीक्षा सञ्चालनका लागि शिक्षा विभागले केन्द्राध्यक्षहरूलाई अभिमुखीकरणसमेत गरिसकेको जनाएको छ । विभागले परीक्षा स्वच्छ र निष्पक्ष बनाउन, विद्यार्थीलाई अनावश्यक त्रास नदिई सहज वातावरणमा परीक्षा सञ्चालन गर्न तथा परीक्षार्थीलाई निर्वाध रूपमा उत्तर लेख्न सहजीकरण गर्न निर्देशन दिएको छ ।
शिक्षा अधिकारी नमराज ढकालका अनुसार कक्षा १० सम्मको छात्रवृत्तिका लागि वडास्तरीय समितिले सिफारिस गर्ने व्यवस्था रहेको छ भने कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि शिक्षा विभागले परीक्षा सञ्चालन गरी नतिजाका आधारमा सिफारिस गर्ने व्यवस्था रहेको छ ।

