२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा
काठमाडौं,जेठ १५ । सरकारले देशभित्रै कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिकलाई निःशुल्क उपलब्ध गराइने औषधिमध्ये २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न सक्ने गरी लिमिटेडलाई सक्षम बनाइने बताउनुभयो ।
उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूएच), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षण संस्थाका रूपमा विकास गरिने जानकारी दिनुभयो । ती संस्थालाई विदेशी विद्यार्थीलाई समेत चिकित्सा शिक्षा प्रदान गर्न सक्ने बनाइने सरकारको योजना छ ।
अर्थमन्त्री डा. वाग्लेले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सातै प्रदेशका अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गरिने उल्लेख गर्नुभयो ।
यसका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोत स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा तथा विशिष्टीकृत सेवा विस्तारमा परिचालन गरिने बजेटमा उल्लेख गरिएको छ ।
त्यसैगरी सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई नागरिक केन्द्रित बनाउँदै व्यापक पुनर्संरचना गर्ने पनि जनाएको छ ।

