रामेछापको भटौली खोलामाथिको पक्की पुल निर्माण अन्तिम चरणमा, आवागमन र कृषि बजारीकरणमा टेवा पुग्ने



रामेछाप,जेठ १७ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ लाई जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। एक स्पान रहेको उक्त पुल यही जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको छ।

बागमती प्रदेश सरकारको रु ३ करोड ३३ लाख ६५ हजार लागतमा निर्माण भइरहेको पुलको काम अन्तिम अवस्थामा पुगेको निर्माण व्यवसायी दीपक थापाले जानकारी दिनुभयो।

तीन वर्षअघि सुरु गरिएको पुल निर्माणको क्रममा प्रारम्भिक डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएपछि काममा केही ढिलाइ भएको जिल्ला पूर्वाधार कार्यालयका प्रमुख ज्यानेन्द्रप्रसाद पुनले बताउनुभयो। उहाँका अनुसार पुल सञ्चालनमा आएपछि माडी क्षेत्रलगायत आसपासका स्थानमा उत्पादन हुने सागसब्जी तथा अन्य कृषि उपज जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौंसम्म ढुवानी गर्न सहज हुनेछ।

स्थानीयवासी खेमबहादुर खत्रीले पुल निर्माण सम्पन्न भएपछि नागरिकको दैनिक आवागमन सहज हुने र कृषि उत्पादनको बजारीकरणमा समेत ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय तहका जनप्रतिनिधि तथा बासिन्दाले पुल निर्माणले क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्