निकोटिनको लतमा फस्दै युवापुस्ता
काठमाडौँ, जेठ १७ गते — नेपालमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष करिब ३९ हजार २०० जनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। स्वास्थ्य विज्ञहरूले युवापुस्तालाई लक्षित गरी बजारमा ल्याइएका इलेक्ट्रोनिक चुरोट, भेप र निकोटिन पाउचजस्ता नयाँ उत्पादनले निकोटिनको लत बढाउँदै लगेको बताएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सुर्ती तथा निकोटिनजन्य पदार्थले क्यान्सर, मुटुरोग र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउने भएकाले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। विज्ञहरूले सुर्तीजन्य पदार्थमा कर वृद्धि, कडा नियमन र जनचेतना अभियान आवश्यक रहेकोमा जोड दिएका छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिणपूर्वी एसियामा करिब ३२ करोडभन्दा बढी वयस्क र ८६ लाख किशोरकिशोरीले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। नेपाल चिकित्सक सङ्घले सुर्तीजन्य पदार्थबाट उठेको कर स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएको छ।
विश्व धूमपानरहित दिवसको अवसरमा विज्ञहरूले सामाजिक सञ्जाल र डिजिटल विज्ञापनमार्फत युवालाई लक्षित गरिने भ्रामक प्रचार रोक्न तथा विद्यालय, परिवार र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न आग्रह गरेका छन्।

