देशभर बदली र वर्षाको सम्भावना, लुम्बिनी तराईमा हुरी चल्न सक्ने



काठमाडौं, जेठ १७ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बदली रहने तथा पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।

महाशाखाले विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्