विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवस : युवापुस्तालाई निकोटिनको लतबाट जोगाउन डब्ल्युएचओको आग्रह



काठमाडौं, जेठ १७ — आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको मुख्य उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका रणनीति तथा स्वस्थ जीवनशैली प्रवर्द्धनबारे जनचेतना फैलाउनु हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार विश्वभर अझै पनि करोडौँ मानिस सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेका छन्। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको बताइएको छ।

यस वर्षको दिवसमा डब्ल्युएचओले विशेषगरी बालबालिका, किशोर तथा युवापुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन सरकारहरूलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।सङ्गठनका अनुसार विद्युतीय चुरोट (ई–सिगरेट), निकोटिन पाउच तथा स्वादयुक्त निकोटिनजन्य उत्पादनहरूको प्रयोग युवामाझ तीव्र रूपमा बढिरहेको छ।

डब्ल्युएचओले सुर्ती तथा निकोटिन उत्पादन गर्ने कम्पनीहरूले आकर्षक प्याकेजिङ, स्वादयुक्त उत्पादन र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरी नयाँ पुस्तालाई लक्षित गरिरहेको जनाएको छ। स्वास्थ्य विज्ञहरूले निकोटिन अत्यधिक लत लाग्ने पदार्थ भएकाले बालबालिका र किशोरहरूको मस्तिष्क विकासमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्।

डब्ल्युएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमा प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रायोजन नियन्त्रण गर्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई कडाइका साथ लागू गर्न आग्रह गरेको छ।सङ्गठनले सुर्तीजन्य तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्