लेक लागेर मुस्ताङमा १३ पर्यटकको मृत्यु, मुक्तिनाथ क्षेत्रमा उच्च सतर्कता
मुस्ताङ,जेठ १७ । मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक (हाइअल्टिच्यटसिकनेस) लागेर नौ विदेशीसहित १३ पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमा चार नेपाली र नौ विदेशी पर्यटक रहेका छन्।
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मृत्यु हुने नेपालीमध्ये तीन पुरुष र एक महिला तथा विदेशीमध्ये सात पुरुष र दुई महिला छन्। मुक्तिनाथ दर्शनका लागि आएका तीर्थयात्रीहरू वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका क्षेत्रमा लेक लागेपछि उपचारका क्रममा ज्यान गुमाएका हुन्।
प्रहरीको तथ्याङ्कअनुसार मुस्ताङमा विशेषगरी भारतीय पर्यटकहरू लेक लागेर प्रभावित हुने गरेका छन्। समथर भूभागबाट एकैपटक तीन हजार मिटरभन्दा माथिको हिमाली क्षेत्रमा पुग्दा शरीरले पर्याप्त अनुकूलन गर्न नसक्दा अक्सिजनको कमीका कारण यस्तो समस्या देखिने गरेको छ।
लेकबाट हुने जोखिम न्यूनीकरणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), मुक्तिनाथ विकास समिति, स्थानीय तह तथा सुरक्षा निकायले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। म्याग्दी–मुस्ताङ सिमानाको घाँसादेखि मुक्तिनाथसम्म विभिन्न स्थानमा सचेतनामूलक साइनबोर्ड राखिएका छन् भने ब्रोसर वितरणसमेत भइरहेको छ।
मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङका अनुसार मुक्तिक्षेत्रका होटलहरूमा पोर्टेबल अक्सिजन सिलिन्डर र आवश्यक औषधिको व्यवस्था गरिएको छ। यद्यपि, ट्राभल एजेन्सी र होटलहरूले पर्यटकलाई पर्याप्त जानकारी नदिने तथा बीचमा आराम गर्ने व्यवस्था नगरी सिधै गन्तव्यमा पुर्याउने प्रवृत्तिका कारण लेक लाग्ने समस्या अझै चुनौतीपूर्ण बनेको छ।
पर्यटकको स्वास्थ्य सुरक्षाका लागि मुक्तिनाथ मन्दिर परिसर र मन्दिर जाने सिँढीमार्गमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ सञ्चालनमा रहेको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिनुभयो। स्वास्थ्यकर्मीहरूले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा बिस्तारै उकालो चढ्ने, बीचबीचमा विश्राम गर्ने तथा ज्येष्ठ नागरिक, दीर्घरोगी र शारीरिक रूपमा अशक्त व्यक्तिले विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।

