एसियन गेम्स महिला क्रिकेट छनोटबाट नेपाल बाहिरियो
काठमाडौं, जेठ १७ । नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताबाट बाहिरिएको छ।
आइतबार मलेसियाको बायुमास ओभल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग डीएल मेथडका आधारमा पाँच विकेटले पराजित भएपछि नेपालको एसियाड खेल्ने सपना समाप्त भएको हो।
वर्षाका कारण प्रभावित खेलमा चीनले सात ओभरमा ४३ रनको लक्ष्य पछ्याएको थियो। रोमाञ्चक बनेको खेलको अन्तिम बलमा दुई रन आवश्यक रहेको अवस्थामा साइ युझीले चौका प्रहार गर्दै चीनलाई जित दिलाउनुभयो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सात ओभरमा पाँच विकेट गुमाउँदै ५० रन बनाएको थियो। नेपालका लागि कविता कुँवरले अविजित २२ रन तथा कप्तान इन्दु बर्माले ११ रनको योगदान दिनुभयो।
यस नतिजासँगै तेस्रो स्थान हासिल गरेको चीन तथा फाइनलमा पुगेका मलेसिया र थाइल्यान्ड आगामी एसियन गेम्सका लागि छनोट भएका छन्। नेपाल भने छनोट चरणबाटै बाहिरिएको छ।

