तामाकोशी नदीमा ‘अभ्यास मनसुन–६’ विपद् प्रतिकार्य प्रदर्शन



दोलखा, जेठ १७ । नेपाली सेनाको गरुड दल गणले दोलखाको उत्तरी सिंगटी बजारस्थित तामाकोशी नदीमा एकीकृत विपद् प्रतिकार्य अभ्यास ‘अभ्यास मनसुन–६’ को प्रदर्शन गरेको छ।

मनसुनजन्य विपद् व्यवस्थापन तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास सञ्चालन गरिएको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले जानकारी दिए। उनका अनुसार दोलखाको उत्तरी क्षेत्र प्राकृतिक प्रकोपका दृष्टिले उच्च जोखिममा रहेकाले तामाकोशी नदीमा अभ्यास आयोजना गरिएको हो।

अभ्यासमा नेपाली सेनाका ३० जना, सशस्त्र प्रहरी बल विपद् प्रतिकार्य बेस सिंगटीबाट सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीको नेतृत्वमा १५ जना तथा इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विष्णुहरि फुँयालको नेतृत्वमा करिब पाँच जना नेपाल प्रहरी सहभागी भएका थिए।

कार्यक्रममा बाढी तथा नदीमा फसेका व्यक्तिको उद्धार, रोप रेस्क्यू, वाटर रेस्क्यू, सर्च एन्ड रेस्क्यू तथा सुरक्षित स्थानान्तरणलगायतका विभिन्न विपद् प्रतिकार्य अभ्यास प्रदर्शन गरिएको थियो।

अभ्यास अवलोकन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्