पृथ्वी राजमार्ग अन्तर्गत मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने
धादिङ,कात्तिक १७ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा मंगलबार दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) को सूचनाअनुसार मझिमटारस्थित पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम सम्पन्न नभएकाले पुनः सवारी आवागमन बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार आज बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडक खण्ड भएर सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ ।
यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरिएको थियो । निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि पुनः आवागमन रोक्न लागिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा सवारी चालक र सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले सम्बन्धित सबै सरोकारवालालाई सूचनाको पालना गर्न आग्रह गरेकी छन् ।

