सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
काठमाडौं, जेठ १७। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन बेथिति अन्त्य गर्दै भ्रष्टाचार निर्मूल गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री शाहले भ्रष्टाचार नियन्त्रणका लागि सरकार सबै हिसाबले सक्रिय र क्रियाशील रहने स्पष्ट पार्नुभयो।
सांसद बुर्लाकोटीले सरकारले पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा घोषणा गरी काम अघि बढाएकोमा धन्यवाद व्यक्त गर्दै मन्त्री र सांसदको निगरानीमा विभिन्न सरकारी निकाय रहने व्यवस्था सकारात्मक रहेको बताउनुभएको थियो।
सदनमा माग भएअनुसार प्रधानमन्त्री शाह प्रत्यक्ष जवाफ दिन उपस्थित हुनुभएको विषयलाई अधिकांश सांसदले सकारात्मक रूपमा लिए पनि केही विपक्षी सांसदले नियमावलीअनुसार पूर्वतयारीसहित लिखित प्रश्नोत्तर प्रक्रिया पूरा नभएको भन्दै ध्यानाकर्षण गराएका थिए।
बैठकमा सुशासन, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका विषयमा सरकारको प्रतिबद्धताबारे छलफल भएको थियो।

