विपन्न वर्गलाई निःशुल्क शिक्षा–स्वास्थ्य सेवा दिने योजना : प्रधानमन्त्री शाह
काठमाडौँ, जेठ १७ — प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई लक्षित गरी निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने योजना सरकारले अघि बढाएको बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले संविधानले शिक्षा र स्वास्थ्यलाई निःशुल्क अधिकारका रूपमा व्यवस्था गरे पनि बजेटीय सीमाका कारण तत्काल सबैलाई सेवा दिन कठिन भएकाले कम्तीमा विपन्न वर्गलाई निःशुल्क सेवा सुनिश्चित गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिनुभयो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालको प्रश्नको जवाफमा उहाँले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने क्रममा निर्यातमा लाग्ने कर छुटजस्ता सुविधालाई ध्यानमा राख्दै स्तरोन्नतिको समय केही वर्ष पछाडि सारिएको बताउनुभयो। देशमा उत्पादित वस्तुको निर्यात प्रवर्द्धन गर्न र अर्थतन्त्र सुदृढ बनाउन यस्तो निर्णय गरिएको उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले समाजवादको व्यावहारिक कार्यान्वयनका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकाको नेतृत्व गर्दा निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति व्यवस्था लागू गरिएको उदाहरण प्रस्तुत गर्नुभयो।त्यसबाट विपन्न परिवारका विद्यार्थीले महँगा विद्यालय र कलेजमा अध्ययन गर्ने अवसर पाएको उहाँले बताउनुभयो।
उहाँले शिक्षा र स्वास्थ्य संस्थाहरूमा विपन्न नागरिकका लागि १० प्रतिशत निःशुल्क सेवा उपलब्ध गराउने नीति देशभर विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न वर्गको जीवनस्तर उकास्न सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो।

