राप्रपाबाट अलगिए धवलशमशेर, नयाँ राष्ट्रवादी अभियानको घोषणा
काठमाडौं,जेठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग हुँदै नयाँ राष्ट्रवादी अभियान सुरु गर्ने घोषणा गर्नुभएको छ।
आइतबार जारी विज्ञप्तिमार्फत राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित आगामी राजनीतिक यात्रा तय गरिएको बताउनुभएको हो।उहाँले नयाँ पुस्तालाई अभियानमा सहभागी हुन आह्वान गर्दै देश र राष्ट्रियताको पक्षमा एकजुट हुन आग्रह गर्नुभएको छ।
विज्ञप्तिमा राणाले राप्रपामा आबद्ध साथीहरूलाई शुभकामना व्यक्त गर्दै आफ्नो निर्णयप्रति कुनै वैरभाव नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले स्वच्छ मन, आत्मीय सम्बन्ध र साझा मान्यतालाई सही लक्ष्यतर्फ अघि बढाउन इच्छुक राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ।
‘राप्रपामा आबद्ध साथीलाई यही बाटो सही लाग्छ भने त्यहीँ रहन शुभकामना छ। कुनै वैरभाव छैन। स्वच्छ मन र आत्मीय सम्बन्धका साथ हाम्रा मान्यतालाई सही लक्ष्य दिने चाहना हो भने सबै राष्ट्रवादी मित्रहरू एकजुट भएर अघि बढौँ,’ विज्ञप्तिमा उल्लेख छ।
राणाको यो निर्णयसँगै राप्रपाको राजनीतिमा नयाँ तरंग पैदा भएको छ भने उहाँले घोषणा गरेको नयाँ अभियानको स्वरूप र भावी रणनीतिप्रति राजनीतिक वृत्तको चासो बढेको छ।

