नियमावली प्रतिवेदनमा छलफल माग्दै विपक्षीको विरोध, प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित



काठमाडौँ, जेठ १७ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि थप छलफलको माग गर्दै विपक्षी दलहरूले विरोध जनाएपछि प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ।

रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमा विभिन्न सांसदहरूले संशोधन दर्ता गराएका छन्। संशोधन प्रस्तावहरूमाथि छलफल गरिनुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठकमा विरोध जनाएका हुन्।

नियमावलीमाथि छलफलको माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले संसद्को रोस्ट्रम घेराउ गरेका थिए। विपक्षीको विरोधका बीच सभामुख डिपी अर्यालले बैठकको कारबाही अघि बढाउन खोजेपछि सदनमा तनाव बढेको थियो।

विरोधका क्रममा बैठक संसद्को मर्यादाभन्दा बाहिर जाने र झडपको अवस्था सिर्जना हुने स्थिति देखिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ।

प्रतिनिधिसभा नियमावलीसम्बन्धी प्रतिवेदनमाथि सहमति जुटाउने प्रयास जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्