भारत भ्रमणमा जाँदै रवि लामिछाने, यता रास्वपाको महाधिवेशन तयारी तीव्र
काठमाडौँ, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार पाँचदिने भारत भ्रमणमा जाने हुनुभएको छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उहाँ जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने रास्वपाले जनाएको छ।
पार्टीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुनेछ। उहाँले भाजपा नेतृत्वसँग भेटघाट तथा छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। अयोध्याको भ्रमणसमेत उहाँको कार्यतालिकामा समावेश गरिएको छ।
भारत भ्रमणमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन्। रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिअनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ।
रास्वपाले उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ।
यसैबीच, रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै सभापति रवि लामिछानेको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ। आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र सङ्गठनात्मक रूपमा सुदृढ बनाउने लक्ष्यसहित समिति गठन गरिएको पार्टीले जनाएको छ।मूल आयोजक समितिमा उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, मनीष झा, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाललगायत नेता सदस्य रहेका छन्। साथै पार्टीका सबै केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई पनि महाधिवेशन तयारीमा संलग्न गराइएको छ।
पार्टी सचिवालय बैठकले सङ्गठन विस्तार र महाधिवेशन तयारीलाई प्राथमिक कार्यसूची बनाउँदै समसामयिक राजनीतिक अवस्था, सङ्गठन सुदृढीकरण तथा पार्टी गतिविधिबारे समीक्षा गरेको जनाएको छ।बैठकमा अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागको मनोनयन, प्रदेश अधिवेशन सञ्चालन कार्यविधि र महाधिवेशनसँग सम्बन्धित संरचनागत तयारीबारे समेत छलफल भएको बताइएको छ।

