चार दिनमै मुक्तिनाथमा ५० हजार भक्तजन, भारतीय पर्यटकको चाप बढ्यो
मुस्ताङ, जेठ १८ । मुस्ताङस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५० हजार भक्तजन तथा पर्यटकले दर्शन गरेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार विगतमा दैनिक औसत तीनदेखि चार हजार भक्तजन पुग्ने मुक्तिनाथमा बिहीबारदेखि आइतबारसम्म उल्लेख्य सङ्ख्यामा दर्शनार्थी पुगेका हुन्।
उहाँले लगातार सार्वजनिक बिदा परेकाले तथा भारतमा अत्यधिक गर्मी बढेका कारण भारतीय पर्यटकको आकर्षण मुस्ताङतर्फ बढेको बताउनुभयो।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार दर्शनार्थीमध्ये करिब ७० प्रतिशत भारतीय नागरिक रहेका छन्।पर्यटकको चाप बढेसँगै म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्मका होटल तथा आवासस्थल भरिभराउ भएका छन्।
धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा रहेको मुक्तिनाथमा पछिल्ला दिनमा भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा बढ्दा स्थानीय पर्यटन व्यवसायसमेत चलायमान बनेको छ।

