पत्नीको हत्या गरेर फरार भएका आरोपी पक्राउ
वीरगञ्ज, जेठ १८ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका एक जनालाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल निवासी रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी आफ्नी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दासले गत जेठ १४ गते फलामे हतियार प्रहार गरी पत्नीको हत्या गरेर फरार भएका थिए।
फरार रहेका अभियुक्तलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो।
पक्राउ परेका दासविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

