दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद



गलकोट,जेठ १८ । गलकोट नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि रु दुई करोड ७९ लाख रकम स्थानीयस्तरबाटै जुटाइएको छ ।

अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम सङ्कलन गरिएको हो । गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टङ्कबहादुर केसीका अनुसार अभियानमार्फत हालसम्म रु दुई करोड ७९ लाख ६२ हजार सङ्कलन गरिएको हो । रकममध्ये दुई करोडबाट अस्पतालको जग्गा खरिदमा खर्च गरिएको छ भने रु १९ लाख १० हजारबराबरको एक्स–रे मेसिन खरिद गरिएको छ । समितिका अनुसार हालसम्म रु दुई करोड २१ लाख ७५ हजार खर्च भइसकेको छ भने रु ७२ लाख ८७ हजार बैंक मौज्दात छ ।

गलकोट नगर अस्पतालको स्तरवृद्धि, पूर्वाधार विस्तार तथा दीर्घकालीन विकासका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने उद्देश्यले आर्थिक तथा जग्गा व्यवस्थापन समिति गठन गरी सहयोग सङ्कलन गरिएको थियो । अभियानमा देशका विभिन्न जिल्ला तथा विदेशमा रहेका गलकोटवासीले आर्थिक सहयोग गरेका थिए । गाउँमै अस्पतालको सुविधासम्पन्न भवनसँगै अन्य पूर्वाधार थप गर्न स्थानीय जुटेका थिए ।

गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट नगरपालिका अस्पतालअघिको जग्गा अस्पतालको नाममा बनाउन स्थानीयले सक्रियता जनाएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उहाँले गलकोट नगर अस्पतालको स्तरवृद्धि र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि स्थानीयले झन्डै रु तीन करोड जुटाएकामा खुसी व्यक्त गर्नुभयो । अस्पताललाई थप व्यवस्थित, सुविधासम्पन्न र नागरिकमैत्री बनाउने लक्ष्यसहित जग्गा व्यवस्थापन अभियान सञ्चालन गरिएको थियो ।

गलकोट नगर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरण व्यवस्थापन तथा विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालनका लागि जग्गा व्यवस्थापनले सहज भएको गलकोट नगर अस्पतालका प्रमुख डा राजेश शर्माले बताउनुभयो । अस्पताल स्तरोन्नतिका लागि अस्पतालसँग जोडिएको झन्डै साढे दुई रोपनी जग्गा अस्पतालका नाममा ल्याइएको हो । अस्पताल स्तरोन्नतिका लागि अस्पतालका नाममा जग्गा आवश्यक भएकाले स्थानीयको सक्रियतामा जग्गा खरिद गरिएको गलकोट नगरपालिका–५ हरिचौरका वडाध्यक्ष पवन हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्